सपना देख्नुपर्छ
घरमा आमाबुवा एकथोक भन्छन्, आफूलाई अर्कैथोक चाहिया छ । छोरो चाँडै ठूलो भएर कामकाजमा लागोस्— बाबाको कामना । आफ्नै आँचलमा गुट्मुट्यार राखिरहन पाउँ—आमाको इच्छा । आफ्नो टेन्सन आफ्नै ठाउँमा छ । कलेजमा आफूले मन पराएकी केटीले आफूलाई वास्ता गर्दिनँ । एक्जाम ढोकामा आएर ढकढक गरिरहेको छ, केही पढ्न मन पनि लागेको छैन । लागोस् पनि कसरी ? पढाइमा अल्मलिए फेसबुक कसले चलाइदेओस् ? अक्षरसँग भन्दा उनको यादसँग खेल्नै मज्जा ! शरीरलाई क्लासमा पार्किङ्ग गराएर मनलाई बराल्नुको मजा नै बेग्लै । साथीहरुसँग चियापसलमा बसेर ठट्टा कसले गरिदेओस् ? आफ्नो भागको मोजमस्ती प्रिन्सिपलले गरिदिन नमिल्ने ! रमाइलो दुनिया त किताब बाहिर छ । किताबका ब्ल्याक एण्ड ह्वाइट अक्षर भन्दा बाहिरको रँगहरुले सँधै आफूलाई तानिरहेको हुन्छ । आउँदो बास्केटबल टुर्नामेण्टमा राम्रो खेल्न सके कलेजकै हिरो हुन पाइन्थ्यो । ऊ पनि पटिन्थी कि ! प्राक्टिस गर्ने पर्याप्त समय छैन । माइक्रोबसमा ठेलम्ठेल गर्दै कलेज पुग्नुपर्छ, एउटा बाइकसम्म छैन । आवश्यकताहरु धेरै छन् । रहरहरु असीमित । इच्छाहरु भँगेराजस्तै भुर्र भुर्र उडेको उड्यै । हाँगा हाँगा, पात पात । छिनछिनमै उडिरहन्छन् । फेरिरहन्छन् ठाउँ । साथीहरु डिस्को जान्छन् । पकेट मनीले चिया र चुरोट सम्म खान पुग्दैन । क्यू एफ एक्स मा गएर हप्तामा एउटा सिनेमा नहेरे जीवन खल्लो लाग्छ । मःम र पिज्जाको भाउ बढेको बढ्यै छ । भाउ त उनको पनि कम कहाँ छ र ? आफ्नै जवानीले आफूसित धेरै भाउ खान्छ । कहिलेकाँही लाग्छ, जवानी कति महँगो ? एकातिर चित्त बुझाउन खोज्छु, अर्कातिर ठुस्स परिदिन्छ जवानी । अर्कातिर चित्त बुझाउन लागे अर्केतिर भ्वाङ्ग परिदिन्छ जवानी । अलिकति खल्तीमा परेको प्वालबाट चुहिन्छ जवानी । आफैँलाई पत्तो नदिई, आफैँसँग छलिएर कहाँ कहाँ पोखिन्छ जवानी । अलिकति उसका आँखामा भुलिन्छ जवानी । कहिलेकाँही, आफ्नै मनबाट उछिट्टिएर एकाएक सगरमाथैसम्म चुलिन्छ जवानी । कहिलेकाँही बाटै भुलेर कहाँ लापत्ता भैदिन्छ । आफूभन्दा दश वर्षे जेठी छिमेकी आण्टीको चोलीमा चिहाउन पुग्छ जवानी । चुरोटको धुवाँले आँत नभरेर गाजाँको पफ खोज्दै हिँड्छ जवानी । हरेक क्षण, हरेक पल समस्यै समस्याको पन्तुरो फुकाइरहन्छ जवानी । अनि समाधान ? त्यो कहाँ छ खै कुन्नि ! कम्प्यूरमा भाइरस पसेको छ । कन्भर्स फाट्यो । कलेजमा कपाल पाल्न दिँदैनन् । जाडो महिनामा बिहान साढे पाँचमा उठेर कलेज जानु कालजस्तै लाग्छ । इङ्गिलिस टिचर सँधै हप्काउँछ । क्यान्टिनवालाले उधारो दिँदैन । ए.डि.यस.यल को इन्टरनेट स्पीड देखेर तालु तात्छ । आमाले सधैँ एउटै तरकारी पकाएर वाक्क लगाइन् । बहिनीसँग टि.भि हेर्नेबेलामा सँधै रिमोट खोसाखोस् । समस्याहरुपनि कति स्याना । कपालका रौँजत्रा । कार्पेटमा अड्किने धुलोका कण जत्रा । अझ त्यो भन्दा पनि स्याना ! अणु परमाणु जत्रा ! आजकाल सपनाहरुपनि महंगा भएका छन् । देख्न चाहेका सपनाहरु चाहेकै बेला कहाँ देखिँदोरहेछ र ? फूलको सुगन्धले पेट भरिन्न । एकछिनको फूलको सुगन्धजस्तै हो सपना । फूलसँग अलिकति दूरी बढ्नेबित्तिकै हराइजान्छ सपनाको मिठास । एक झोका हावाजस्तै हो सपना । कहाँबाट आउँछ, अनि कहाँ जान्छ । कसैलाई पत्तै हुन्न । तरपनि सपना देख्नुपर्छ । जतिसुकै भाउ खाओस् । सपना पाल्नुपर्छ जतिसुकै महंगो होस् । सपनासितै खेल्नुपर्छ जतिसुकै झेली गरोस् । किनकि सपनामै त लुकेको हुन्छ वास्तविकताको वीउ जसरी लुकेको हुन्छ वास्तविकतामा सपनाको वीउ !
बिगत अनि बर्तमानमा मैले भोगेका सकारात्मक अनि नकारात्मक जिबनका अभ्यास हरु आफ्नै शब्द, आफनै रचना, आफ्नै भाषा शैली लाई साहित्यिक शब्दमा रचिएका रचना हरु साथै मेरो बारे मा पनि केही शब्द हरु।
Monday, October 13, 2014
सपना देख्नु पर्छ!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment