म मरेको दिन तिमी, हाँस्छौ कि रुन्छौ प्रिय ?
खुचिङ पो भन्छौ कि, त्यसै मुच्र्छा हुन्छौ प्रिय ?
सँगै हुँदा रिस गर्छौ, भित्र माया छ कि कतै ।
खस्न खोज्ने आँसुलाई, खसाल्छौ कि थुन्छौ प्रिय ?
सोच्दा सोच्दा मन घुम्छ, के के सोच्छु मनभित्र। देखेपछि मेरो लाशलाई, तर्कन्छौ कि छुन्छौ प्रिय ?
रुन्छन होला परिवारका, वियोगमा डाँको छोडि।
गाह्रो होला हाँस्नलाई, कि पिरव्यथा फुन्छौ प्रिय ?
कुरा होलान गुन बैगुनका, अनि मेरो बारे
चुन्न परे गुन र बैगुन, तिमी कुन चुन्छौ प्रिय ?
मर्ने जान्छन मरिकन बाँच्नेलाई दूख हुन्छ।
मनको माया समाल्छौ कि अर्को घर बुन्छौ प्रिय ?
मैलो हुन्छ अरे मन मरेकालाई देखेपछि।
के के गर्छौ शुद्ध हुन, कि जिउ धुन्छौ प्रिय?
सजिलो छ भन्नलाई भोग्न गाह्रो पर्छ नि त।
मान्छे पिच्छे फरक अर्ति कस्का कुरा सुन्छौ प्रिय?
( सम्बन्धित ब्यक्ती बाट उत्तर कि पर्खाइमा)
No comments:
Post a Comment